भारतको मन्दिरमा नेपालीका पुजाँरी

११ कात्तिक, झारखण्ड । काठमाडौंस्थित पशुपतिनाथझैं भारतको झारखण्डस्थित रावणेश्वर महादेव मन्दिर पनि विश्वका हिन्दूहरुको ठूलो तीर्थस्थल हो । यहाँ हरेक दिन श्रद्वालुहरुको घुइँचो रहन्छ । नेपाली हिन्दूहरुको श्रद्वाको केन्द्र यो पनि एउटा हो ।

बिहारको सुल्तानगञ्जस्थित गंगा नदीबाट जल भरेर यो मन्दिरमा रिसाल गर्न नेपालको मेचीदेखि महाकालीसम्मका हिन्दू धर्माम्बलीहरु त्यहाँ पुग्ने गर्दछन् । सुल्तानगञ्जमा उत्तरतिरबाट गंगा नदी बहने भएको र यहाँको जल रावणेश्वर महादेव मन्दिरमा चढाउनाले भगवान शिव खुशी भई मनोकामना पूर्ण गर्ने विश्वासका साथ त्यहाँ पुग्ने नेपाली हिन्दूहरुको संख्या पनि अत्यधिक हुन्छ । साउन, भदौ र असोजमा यहाँ जाने तीर्थयात्रीको संख्या धेरै हुन्छ भने अन्य महिनामा पनि चल चढाउने, दर्शन गर्ने र पूजापाठ गर्नेहरुको संख्या बढी नै रहन्छ ।

यद्यपी भारतको यो ठाउँमा पुग्दा नेपालीलाई नेपालीपनको अनुभूति हुन्छ । जल भरेर त्यहाँ पुग्ने हरेक श्रद्वालुहरु मन्दिर छेउछाउ पुग्नेवित्तिकै पण्डा (त्यहाँका पण्डित) हरु हरेकलाई सोध्न गर्छन्, ‘जल संकल्प गराउने होइन ?

अधिकांश पण्डाहरु त पछि नै लाग्छन् । उनीहरुको थप प्रश्न हुन्छ, ‘कहाँ, कुन ठाउँबाट आउनुभएको हो ?’ यसबारे थाहा हुने श्रद्वालुहरुले आफूलाई ‘लालमोहरिया’ भन्छन् । थाहा नहुनेले नेपालबाट आएको भन्छन् । नेपालबाट आएको भन्नेलाई पण्डाले थप जिज्ञासा राख्छन्, ‘नेपालको कुन ठाउँबाट ?’

नेपाली या लालमोहरिया ठेगाना बताएपछि अनावश्यक दुःख दिन खोज्नेहरु पाखा लाग्छन् र आफूले रोजेको पण्डाबाट जल संकल्पका साथै पूजापाठको सहज व्यवस्था हुन्छ ।

नेपालीहरुको गर्व महसुस गर्ने अर्काे कुरा के छ, भने झारखण्ड जिल्लाको देवघर जिल्लामा अवस्थित यो मन्दिरको कुनाहरुमा नेपालका जिल्लाहरुको नाम उल्लेख गरिएको छ । नेपालका तीर्थयात्रीका लागि छुट्टयाएका पण्डाहरुले नेपालको खुकुरी निशान उल्लेख गरेरै आफ्नो प्रचारसमेत गरेपछि यहाँ पुग्ने जोकोही नेपालीलाई आफ्नै देशको अनुभूति दिलाउने गर्दछ ।

कतिले झापा, मोरङ, सुनसरी त कतिले सप्तरी, सिरहा, धनुषा जिल्लाका भक्तजनको पूजा गराउने जिम्मा लिएका छन् । ‘नेपालको मेचीदेखि महाकालीसम्मका जिल्लाहरु बाँडफाँट गरेर अहिले काम गरिरहेका छौं’ बहादुरका भाई लक्ष्मीकान्त पण्डाले भने, ‘एक जनाले पाँचदेखि सात वटा जिल्लाका नेपालीहरुको पूजा गराउँदै आएका छौं ।’

मन्दिरको इतिहास

रावणेश्वर महादेव मन्दिर लंकाका राजा रावणको नामबाट राखिएको छ । पौराणिककालमा भगवान शिवलाई आफ्नो राज्यमा लैजान रावणले लामो समय तपस्या गरेका थिए ।

उनको तपस्याबाट प्रसन्न भई भगवान शिवले ‘म जान तयार छु, तर मेरो शिवलिंगलाई भुइँमा राखेमा जान असमर्थ हुने’ बताएका थिए । शिव लिंगलाई लिएर लंकातर्फ जाँदै गरेका रावणलाई पिसाबले च्यापेको थियो । त्यस बेला एक जना गाई चराउने व्यक्तिलाई देखेपछि रावणले केहीबेर शिवलिंग समाइदिन आग्रह गरेका थिए । तर, रावण पिसाब गरेर लामो समयसम्म नफर्किएपछि ती गोठालाले शिवलिंगलाई त्यहीं छोडिदिएका थिए ।

शिवलिङ्ग राखिएको त्यहीं ठाउँमा भगवान विश्वकर्मा आफैं आएर यो मन्दिर त्यहीं बेला निर्माण गरिदिएको जनविश्वास रही आएको छ । यहाँ पूजा गर्दा मनोकामना पूरा हुने विश्वास रहेको छ ।

हुन त, ती पण्डाहरु नेपालका होइनन्, झारखण्डकै हुन् । तर नेपालीको पूजापाठ गराउन त्यहाँ खटिएका हुन्छन् । नेपालीको पूजापाठ गराइदिने कतिपय पण्डाले अन्य देशका श्रद्वालुको पनि पूजा गराउने गर्छन् भने धेरैले नेपालीको मात्रै । ‘हामी नेपाली श्रद्वालुहरुको पूजापाठ गराउँछौं’ बहादुर पण्डाले भने, ‘हाम्रा पूर्वजले नेपालीको मात्रै पूजा गराउने जिम्मेवारी लिएकाले हामी पनि नेपालीको मात्र पूजा गराउँदै आएका छौं ।’

जंगबहादुरको मन्दिर  भ्रमण

राणा प्रधानमन्त्री जंगबहादुर राणाले देवघर पुगेर एक पण्डालाई नेपालका पूजारी भन्दै नियुक्त गर्दै लालमोहर लगाइदिएपछि यहाँ लालमोहरिया नाम प्रचलित भएको इतिहास छ ।

ती पण्डाका सन्तान बहादुर पण्डा त्यसबेलाको इतिहास आफ्ना पूर्वजहरुबाट सुनेका छन् । बहादुरका हजूरबुवाका हजूरबुवालाई जंगबहादुरले नेपाली पूजारीको रुपमा नियुक्त गरेका थिए ।

करिब २ सय बर्षअघि जंगबहादुर हात्तीमा चढेर दलबलका साथ पूजा गर्न देवघर पुगेका थिए । उनी त्यस बेला रावणेश्वर महादेव मन्दिर अगाडिको शिव गंगा पोखरी छेउमा बसेका थिए । पण्डाहरुले कहाँबाट आउनुभएको छ ? भनेर सोधे । जंगबहादुरले आफू नेपालबाट आएको र पूजा गराइदिन पण्डाहरुलाई भने ।

जंगबहादुरले पूजा गराइदिए वापत सवा किलो ‘जौ’ दिने बताए । सवा किलो जौमा पूजा गराइदिन कोही तयार भएनन् । तर बहादुरका हजुरबुवाका हजुरबुवा गणेश पण्डा तयार भए ।

गणेश पण्डाले पूजा गराइदिएपछि जंगबहादुरले सवा किलो जौ प्रदान गरे । ‘तर त्यो जौ नभई सुन थियो’ आफ्ना पूर्वजबाट सुनेको इतिहास सुनाउँदै बहादुर भन्छन्, ‘सुनको जौ बनाइएको रहेछ । जुन पाएपछि मेरा पुर्खा अत्यधिक खुशी भएका थिए ।’

जंगबहादुरले आफ्नो पूजा गराइदिएको भन्दै जंगबहादुरले आफ्नो मुलुकका लागि मन्दिरको पूजारी उनै गणेशलाई नियुक्त गर्दै लालमोहर लगाइदिएका थिए । त्यहीं दिनदेखि नेपालीका लागि उक्त मन्दिरमा पूजारी नियुक्त गरियो र, गणेशको नाम पछाडि लालमोहरिया लाग्यो । अहिले पनि उनका सन्तानहरुले आफ्नो नामको पछाडि लालमोहरिया लेखाउँदै आएका छन् ।

गणेशलाई पूजारी नियुक्त गर्दै जंगबहादुरले सवा किलो सुनसहित महोत्तरी जिल्लामा विर्ता वापत २५ बिा जग्गासमेत दिएका थिए । उक्त जग्गा उनका सन्ततिले अहिलेसम्म उपभोग गर्दै आएका छन् ।

‘उक्त जग्गामा महोत्तरीका स्थानीयले बाली उत्पादन गर्दै त्यस वापतको रकम अहिलेसम्म आफूहरुलाई पठाइरहेका छन्’ बहादुरले भने ।  गणेश लालमोहरियाका सन्ततिहरु भगवती प्रसाद, मधुकान्त, लक्ष्मीकान्त र उनीहरुका छोरा पुस्ताले पनि नेपालीहरुकै पूजापाठ गराइरहेका छन् ।

हजुरबुवाले राखिदिए नेपाली नाम ‘बहादुर’

जंगबहादुरले नियुक्त गरेका नेपाली पण्डा गणेशका सन्तति बहादुरको नाम नेपाली नामबाटै उनका हजुरबुवा भगवती प्रसादले नै राखदिएका छन् । झण्डै ८० बर्ष उमेरका बहादुर त्यस बेलाको घटना स्मरण गर्दै भने, ‘मेरो हजूरबुवा काठमाडौं जानुभएको थियो । त्यहीं बेला मेरो जन्म भयो । उहाँ आउनेवित्तिकै नेपालीहरुजस्तै मेरो नातिको नाम ‘बहादुर हुनुपर्छ’ भन्दै नाम तोकिदिनुभयो ।’

जिल्ला बाँडफाँट

गणेशलाई नेपाली पण्डाको रुपमा जंगबहादुरले नियुक्त गरेपछि त्यस बेला नेपालीहरुको पूजा गराइदिने जिम्मा उनी एक्लाले पाएका थिए । पछि उनको वंश अगाडि बढ्दै जाँदा नेपालका जिल्लाहरु नै बाँडफाँड गरिएको छ ।

कतिले झापा, मोरङ, सुनसरी त कतिले सप्तरी, सिरहा, धनुषा जिल्लाका भक्तजनको पूजा गराउने जिम्मा लिएका छन् । ‘नेपालको मेचीदेखि महाकालीसम्मका जिल्लाहरु बाँडफाँट गरेर अहिले काम गरिरहेका छौं’ बहादुरका भाई लक्ष्मीकान्त पण्डाले भने, ‘एक जनाले पाँचदेखि सात वटा जिल्लाका नेपालीहरुको पूजा गराउँदै आएका छौं ।’

अनलाइन खबरबाट  

 
 

प्रतिकृया दिनुहोस