स्वर्गद्धारीमा गौमुत्र प्रशोधन गरि औषधि

काठमाण्डौं, बैशाख, ७ ।
प्यूठानको स्वर्गद्धारी आश्रममा रहेका गाईबाट संकलित मुत्र प्रशोधन गरि औषधिको रुपमा बिक्रि गर्न सुरु गरिएको छ ।

स्वर्गद्धारी आश्रममा रहेका ३ सय ५० गाईबाट दैनिक ४० लिटर बढी मुत्र संकलन हुदै आएको छ । संकलित मुत्रलाई प्रशोधन गरि ग्याष्ट्रिक तथा पेटका अन्य समस्यामा औषधीको रुपमा प्रयोग गर्न सकिने गरि गौअर्घको रुपमा बिक्रि गर्न सुरु गरिएको हो । झण्डै १ महिना अघि देखि गौअर्घको रुपमा प्रशोधित गाईको मुत्र बिक्रि गर्न सुरु गरिएको आश्रममा रहेका बाबुराम न्यौपानेले जानकारी दिनुभयो ।

८० लिटर गाई मुत्रलाई उमालेर बाफ निकाल्दै पुरै प्रशोधित गर्दा ४० लिटर गौअर्घ उत्पादन हुने न्यौपानेले जानकारी दिनुभयो । गौअर्घको मुल्य प्रतिलिटर १ सय ५० रुपैया राखिएको छ । आश्रममा एक सय घनमिटरको गोबर ग्यास प्लाण्ट भएपनि चिसोका कारण पुरै क्षमतामा संञ्चालन हुन सकेको छैन ।

गाईहरुलाई पानी कुडो खुवाउन सजिलो होस् भनेर बैकल्पिक उर्जा प्रर्वद्धन केन्द्र आश्रममा सोलार पनि राखिदिएको छ । राप्ती अंचल अन्र्तगत प्यूठानको अग्लो शैलशिखरमा रहेको पावन क्षेत्र स्वर्गद्धारी आश्रमको स्थापना १९५२ मा बालतपस्वी महाप्रभुबाट भएको जनविश्वास छ । प्राचीन समयमा स्वर्गद्धारी क्षेत्र यज्ञभूमिको रुपमा प्रसिद्ध थियो ।

वेदव्यास जस्ता त्रिकालदर्शी महर्षिहरुले यही ठाउँमा यज्ञ गरेको तथा महाभारतका पाँचपाण्डवले तपस्या गरेर स्वर्ग प्रस्थान गरेको जनश्रुति पनि रहदै आएको छ । आश्रममा २०५२ सालदेखि अखण्ड यज्ञ चल्दै आएको छ । स्वर्गद्धारीमा यज्ञका लागि २४ जना पूजारी, गुरुकुलमा १ सय जना विद्यार्थी तथा साधुसन्तहरु रहेको साधक न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस