नवलपुरको प्रसिद्ध धार्मिक स्थल दाउन्ने देवी मन्दिर

मध्यविन्दु । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका – २ दाउन्ने पर्वत अमरवनमा अवस्थित धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले निकै नै महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित रहेको छ ।

दाउन्ने पर्वतलाई मध्य भागमा चिरेर महेन्द्र राजमार्ग रहेको छ । यही राजमार्गले गर्दा दाउन्ने क्षेत्र नेपालमा निकै नै चर्चित छ । यही दाउन्नेको चुचुरोमा रहेको छ, प्रख्यात दाउन्नेदेवीको मन्दिर । जुन समुद्र सतहदेखि तीन हजार ३७९ फिटको उचाइमा रहेको छ ।

काठमाडौँबाट पश्चिम जाँदा करिब २२८ किलोमिटर तथा नारायणगढबाट ५५ किलोमिटरको दुरीमा पूर्वपश्चिम महेन्द्र राजमार्गको दाहिनेतर्फ करिब ३० मिनेटको उकालो हिँडेपछि दाउन्नेदेवीको मन्दिरमा पुगिन्छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यो दाउन्ने पर्वत निकै नै रमणीय रहेको छ । दाउन्ने पर्वत अमरवनमा अवस्थित दाउन्नेदेवी मन्दिर धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिकोणले निकै नै महत्त्वपूर्ण क्षेत्रका रूपमा परिचित रहेको छ ।

यसलाई ऐतिहासिक दृष्टिकोणले १६औँ शताब्दीमा पाल्पाका राजा मुकुन्द सेन, प्रथम  १५७५-१६०१ विसंदेखि यसको अस्तित्व रहँदै आएको समेत उल्लेख गरिएको छ । १९औँ शताब्दीको दोस्रो दशक १८१६ मा पाल्पाका राजा महीपाल सेनले धुर्कोटमा दरबार बनाउँदा देवी रिसाएर शीतलामाईको प्रकोप बढी छोरा, छोरी बिरामी हुँदा लामाहरूको निर्देशानुसार धुर्कोटमा धुर्कोट देवी, महल पोखरीमा महल पोखरी देवी र दाउन्ने पर्वतमा दाउन्ने देवीको स्थापना गर्न लगाएका थिए भन्ने विश्वास रहेको छ ।

यस मन्दिरमा मल्ल तथा राणाकालीन घण्टी दाउन्नेदेवी मन्दिरमा थिए भन्ने कुरा २०२४ सालमा यस दाउन्ने देवीमा आइबसेका बाबा अम्बिका पुरीलगायत यहाँका बृद्धबृद्धाहरुको भनाई रहेको छ । विसं १९२४ मा कप्तान सुरवीर बस्नेतले समेत चढाउनु भएको घण्टी अझै पनि मन्दिरमा विद्यमान रहेको छ ।

योगी नरहरिनाथले यसरी संक्षेप आधारमा हेर्दा यसको अस्तित्व आज भन्दा ४५० वर्ष भन्दा अगाडी देखिरहेको स्पष्ट हुन्छ भनी दाउन्ने चिनारी पुस्तकमा उल्लेख गरिएको छ । यस मन्दिर परिसर एवं पर्वतमा वाल्मीकि ऋषि आश्रम यहाँ पनि रहेको, गौतम बुद्ध पूर्वको यात्रा गर्ने क्रममा यही स्थलमा वास बसेको भन्ने पनि छ ।

साथै यस पर्वतमा विभिन्न गुम्बाहरू र  योगाश्रमलगायत विभिन्न मठ र मन्दिर, देवलहरू रहेका छन् । यस रमणीय स्थलमा स्थानीयवासीको लागि वनभोज, विवाह, व्रतबन्ध, धार्मिक कार्यक्रम आदि गर्नको लागि यस धार्मिक स्थलमा विभिन्न सुविधाहरू रहेको छ ।

विगत ४ वर्षदेखि दाउन्ने देवीका पुजारी रहेका गोविन्द पौडेलका अनुसार यस देवीको दैनिक नित्य पूजा, आरती बिहान र बेलुका हुने गर्दछ । यस मन्दिरमा विशेष पूजा श्री पञ्चमी र विजया दशमीको नौ दिनसम्म पनि हुने गर्दछ । यस देवीको पूजा आराधना गर्नाले रोगव्याधी ठिक हुने, आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास समेत रहेको छ ।

साथै, यस देवीको मन्दिरमा बलि समेत दिइने गरिएको छ । यस मन्दिरमा विशेष गरी बिदाको दिन र शनिबार भक्तजनहरूको अत्यधिक भिड हुने गर्दछ । यस देवीको पूजा अर्चना गर्नको लागि छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउने गर्दछन् ।

मन्दिरका स्वयंसेवक दयाराम न्यौपानेका अनुसार यस मन्दिरको विभिन्न कार्यका लागि स्थापना गरिएको दाउन्ने देवी मन्दिर संरक्षण तथा व्यवस्था समितिले कार्य गर्दै आएकोमा २०७९ साल ज्येष्ठ महिनादेखि समिति विघटन भई हाल उक्त मन्दिरको व्यवस्थापन, चन्दा सङ्कलनलगायत विभिन्न सम्पूर्ण कार्य विनयी त्रिवेणी गाउँपालिकाले सञ्चालन गरिरहेको छ ।: नवलपुर न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

भोलिदेखि सोह्र श्राद्ध शुरु हुँदै

काठमाडौं ।  यो वर्षको सोह्र श्राद्ध भोलि (बुधबार)देखि शुरु हुँदैछ। चलनमा रहेको पञ्चाङ्ग (पात्रो) ...