पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु

चितवन । यहाँको होटल भिष्टा सौराहाका सञ्चालक रमेश सिलवाल होटलको रङ्गरोगन र सरसफाइमा व्यस्त छन् । अबको एकदुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उनको योजना छ ।

कोठाभित्रको रङ्गरोगनको काम आज सक्ने तयारीमा रहेका सिलवालले भने, “आज साँझसम्ममा रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ”, उनले थपे, “एकदुई दिनपछि पर्यटक बोलाउनु प(यो नि ।” बर्सातको समयमा घुम्न आउने पर्यटकको सङ्ख्या निकै कम हुने गर्दछ । केही वर्षअघि सम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीहरुलाई यो समयमा बिदा दिने गर्दथे ।

सिलवालको भनाइमा आजभोलि थोरै पर्यटक भए पनि मजदुर कर्मचारी होटलमा रहने गर्दछन् । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे पनि यतिबेला होटलको सरसफाइ, रङ्गरोगन, मर्मतसम्भारमा व्यस्त छन् । उनले भने, “होटललाई राम्रो बनाउने काममा जुटिरहेको छु ।”

असोज लागेसँगै पर्यटकको आगमन बढ्ने उनको अनुमान छ । क्षेत्रीय होटल सङ्घका पूर्वअध्यक्षसमेत रहेका घिमिरेको भनाइमा वर्षात घटेर बाटो राम्रो भएमा असोज पहिलो साताबाट पर्यटकको आगमन बढ्दै जाने छ । होटलका मर्मतसम्भारका सबै काम यो महिनाभित्र सक्ने तयारीका साथ गरिरहेको उनले बताए । घिमिरेले भने, “अबको केही दिनमा हाम्रो बगैँचामा ढकमक्क फूल देख्न सक्नुहुन्छ ।” पर्यटकलाई कसरी आकर्षण गर्ने भन्ने तयारीका साथ व्यवसायी जुटेका छन् ।

होटेल सेभेन लिमिटेडमा दुई सातादेखि पर्यटकको आगमन बढ्न थालिसकेको छ । होटलका प्रबन्ध निर्देशक सन्तोष पाठकले भने, “हाम्रोमा पर्यटकको राम्रो आगमन हुन थालिसकेको छ ।” वर्षातको समयमा पर्यटक कम हुँदा रङ्गरोगन र मर्मतसम्भारको काम गरिएको पाठकले बताए । होटलको व्यवस्थापन पाठकसहितको समूहले लिएपछि पाँचतारे बनाउनेगरी काम थालिएको छ । उनको भनाइमा ९८ वटा कोठा थप गरेर एक हजार क्षमताका दुई हलसहितका संरचना बनाउने तयारी छ ।

रेष्टुरेन्ट एन्ड बार एसोसिएसनका पूर्वअध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार सौराहाका ८० वटा रेष्टुरेन्ट मर्मतसम्भारका काम सकेर पर्यटकको पर्खाइमा छन् । ३० वटा हात्तीको व्यवस्थापन गर्दै आएको युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका खतिवडाले सौराहाका सबै पर्यटन व्यवसायी नयाँ पर्यटकीय मौसममा पर्यटकको पर्खाइमा रहेको बताए ।

क्षेत्रीय होटल सङ्घका महासचिव गुणराज थपलियाले वर्षातसँगै बिग्रिएको बाटोका कारण यो वर्षातमा पर्यटकको आगमनमा निकै कमी आएको बताए । पर्यटनसँग सम्बन्धित व्यवसायीहरु अबको मौसममा पर्यटकको राम्रो आगमन हुने अपेक्षासहित तयारीमा जुटेको उनको भनाइ छ ।

सौराहामा एक सय ५० भन्दा बढी होटल छन् । ती होटलमा छ हजार पाँच सय अट्ने क्षमता रहेको छ । जङ्गल सफारीका लागि विश्वमा प्रख्यात चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारमा सौराहा रहेको छ । थपलियाले भने, “स्वदेशी र विदेशी पर्यटक अबको मौसममा पहिलेभन्दा बढ्ने हाम्रो अपेक्षा छ ।” रासस

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आश्विनकृष्ण इन्दिरा एकादशीको धार्मिक महत्व !

काठमाडौं । मिती २०८१ साल आश्विन १२ गते शनिबार आश्विनकृष्ण इन्दिरा एकादशी तिथी अपराह्न: ४ / ५२ बजे...