आज असार १५: राष्ट्रिय धान दिवस, दहि चिउरा खाएर मनाइँदै

काठमाडौं । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस । मानो रोपेर मुरी उब्जाउने महिनाको सुरुवात अर्थात् असार १५ गतेका दिन नेपालभर धान दिवस, रोपाइँ यात्रा आदि नामले मनाइँदै छ। प्रत्येक वर्ष जसरी आज पनि रोपाइँ गरी दही चिउरा खाएर मनाइँदैछ । 

कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ। सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको छ ।

यो दिनलाई दही चिउरा खाने दिन पनि भनिन्छ । मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकाको गीतमा रमाउने पुरानो प्रचलन छ । यस वर्ष भने कोरोना महामारीको कारण व्यक्तिगत दुरी कायम राखी धान दिवस मनाइने कृषि विभागले जनाएको छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही 
चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । 

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिन्छ  गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकोमा जानु नपर्ने बताइएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।

पखाला लागेका बेला दही, चिउरा खाएमा औषधिको काम गर्छ। यसैले दही,चिउरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ। यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ। असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन्। यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

संस्कृति संरक्षणमा स्रष्टाहरूको योगदान स्मरणीय: राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको साँस्कृतिक धरोहरलाई जोगाउन र त्यसलाई विश्वभरी चिन...