दसैँको सांस्कृतिक र पौराणिक महत्त्व के छ ? यसलाई किन महान् वा बडाचाड भनिएको हो ?

काठमाडाैं । असोजमा मनाइने दसैँलाई हामी बडादसैँ भन्छौँ । विशेष गरी वर्षमा दुई वटा दसैँ हुन्छन् । एउटा चैते दसैँ, अर्को बडादसैँ । असोजमा मनाइने दसैँ शरद ऋतुमा पर्ने भएकाले बडा दसैँ भन्छौँ । यसका धार्मिक र सांस्कृतिक धेरै नै महत्वहरू छन् । किनभने लामो समयदेखि चलेर आएको पर्व हो यो । पर्व भन्नासाथ पारिवारिक मिलनका रूपमा पनि बुझ्न सकिन्छ । समाज–समाज, व्यक्ति–व्यक्ति र परिवार–परिवारमा जोडिने भएकाले पनि यसलाई बडादसैँ भनिएको हो । सामाजिकीकरणका लागि पनि यसको आफ्नै महत्त्व छ । धार्मिक र सांस्कृतिक महत्त्व त हुने नै भयो सामाजिक महत्त्व पनि अत्यन्त धेरै छ ।

नेपालको सन्दर्भमा धेरै चाडवाडहरुमध्ये बडादसैँ, विजया दशमी अथवा दसैँलाई अत्याधिक महत्वको रूपमा नेपालीहरूले  मनाउने गरेको पाइन्छ । यद्यपि, केही समूहले हिन्दुहरू होइन भनेर दसैँ नमनाएको पनि पाइन्छ । स्वाभाविक पनि लाग्छ यसले केही हदसम्म दसैँको सन्दर्भमा रहेका कमी कमजोरीहरूलाई सुधार गर्न मद्दत गरेको पाइन्छ । तर, त्यस्तो समूह धेरै ठुलो चाहिँ छैन । समग्रमा भन्नुपर्दा विजया दशमी नेपालीहरूको एउटा महान चाडको रूपमा लिनुपर्दछ ।

अहिले त नेपालीहरू विश्वका विभिन्न कुनामा बसेका छन् । आजभन्दा १५–२० वर्षभन्दा अगाडि यसको जति राष्ट्रिय महत्त्व थियो, अब अन्तर्राष्ट्रिय हुँदै गएको छ । नेपालको चाडपर्व हेर्ने पञ्चाङ्ग निर्णायक विकास समिति पनि अन्तर्राष्ट्रिय रूपमै साइतहरू सार्वजनिक गर्न थालिसकेको छ । अमेरिका, बेलायत, जापान र कोरियालगायतका देशहरमा कुन कुन बेला टिकाको साइत छ भनेर सार्वजनिक गर्नु पनि बडादसैँले आफ्नो महत्त्व विस्तार गर्दै लगेको अर्थको रूपमा पनि बुझ्नुपर्दछ । बडादसैँको सामाजिक, सांस्कृतिक, पौराणिक महत्त्व भएकै कारणले मान्छेले यसलाई ग्रहण गरिरहेका छन् । 

विश्वका विभिन्न देशमा मनाइने दसैँको तौरतरिका एकै किसिमको हुन्छ कि फरक फरक छ ? 
विभिन्न देशको भ्रमणका क्रममा त्यहाँ मनाइने दसैँलाई नजिकबाट हेर्ने मौका पाएको छु । त्यहाँ अलग अलग देशले त्यहाँको समय परिस्थिति र पर्यावरण अनुसार फरक फरक तरिकाले नै मनाएको देखिन्छ । तर, दसैँमा भएको अभिन्न अंगहरु एउटै संस्कृति अनुसार मनाइन्छ । दसैँका एक दुई वटा अंगहरु भनेको दसैँ एउटा चाड हो । यसमा मनोरञ्जन छ, केही धार्मिक, अध्यात्मिकता र केही उपासना पक्ष पनि छ । दसैँमा साधनाका पक्षहरू पनि त्यत्तिकै छन् । त्यस लगत्तै विजया दशमीदेखि पुर्णिमासम्म टिकाटालोको समय छ । टिकाटालो र जमरा राख्ने क्रमलाई सबैतिर विधि जानेको छ भने आफैँले र जानेको छैन भने साथीभाइतर्फबाट जमरा ल्याएर टिकाटालो गर्ने चलन छ ।

तर, जसले विजया दशमीलाई अध्यात्मका रूपमा चिनियो र महत्वका साथ हेर्दै आउनुभएको छ । दसैँका सुरुवाती नौ दिनमा मान्छेले आफ्नो जीवनलाई फेरि पुर्नताजकी गरेर नवीकरणीय गरेर ऊर्जा प्राप्त गर्ने पर्व पनि हो । बाह्य कुराहरू खाने, पिउने, रमाइलो गर्ने कुराहरू त सबैतिर उस्तै उस्तै जस्तो देखिन्छ । दसैँभित्रको साधनाको, ज्ञानको पक्षमा चाहिँ कहीँ न कहीँ चुकिरहेका छौँ । यसो भनिरहँदा नेपालमा चाहिँ दसैँमा साधनालाई महत्त्व दिइरहेका हुन्छन् कि भन्ने प्रश्न आउला, यसमा पनि हामी चुकिरहेका छौँ । सरकारले समेत दसैँलाई खाने पिउने र रमाउने तरिकालाई मात्र प्रोत्साहन गरिरहेको जस्तो देखिन्छ । तर दसैँ अध्यात्म साधना र पारिवारिक मिलनको चाड भएकाले विश्वमै दुर्लभ मानिन्छ । यसमा जीवन्तता भरिएको छ, यस कारण पनि बडादसैँ, ठुलो दसैँ भनेर विश्वभर छरिएर रहेका नेपालीहरूले मनाउने गरेका हुन् । 

तपाईँले दसैँलाई आध्यात्मिक चाडका रूपमा व्याख्या गरिरहँदा विलासीका रूपमा लिने हिन्दुहरू पनि धेरै छन् । ऋण लिएर नै भए पनि दसैँ मनाउने प्रवृत्तिले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ ? 
समाजको बाहिरी रूपमा देखिने पक्ष हो यो । दसैँ मनाउनेहरू सबै हुनेखाने छन् भन्न मिल्दैन । त्यस्तो अवस्थामा कतिपय मान्छेले अर्काको देखासिकीमा अर्थात् उसले यस्तो गर्‍यो मैले किन नगर्ने ? अरूले नयाँ लुगा किन्यो मैले किन नकिन्ने ? भनेर प्रतिस्पर्धा गर्ने चलन छ । यस्तो प्रवृत्ति बढ्दै जाने हो भने अरूले घोडा चढ्यो भनेर आफू धुरीमाथि चढ्न जानुजस्तो हुन्छ । यसले निश्चय नै देशको अर्थतन्त्रमा असर पर्छ  । त्यसैले कुनै पनि चाड मनाउँदा आफ्नो आर्थिक परिस्थिति हेरेर मनाउने हो । ऋण लिएर, ऋणमा डुबेर चाडपर्व मनाउनुपर्छ भन्नेमा म छैन । किनभने कसैले कसरी मनायो भन्दा पनि आफूले राम्रो ढंगले चाड मनाउने हो । कसैले यो पटक तैले किन कम गरिस् भनेर त भन्दैन नि । त्यसैले आफ्नो क्षमताले भ्याएसम्म ऋणमा नडुबिकन दसैँ मनाउनुपर्छ । 

दसैँको साइत नेपाल र विश्वका विभिन्न देशमा किन फरक पर्न गएको हो ? 

समयको फरक भएरै होला । अमेरिका र नेपालमा मात्रै पनि १२, १३ घण्टाको फरक छ । अमेरिकाका राज्यपिच्छे फरक छ । जति हामी पूर्वतिर गयौँ, त्यति घण्टा फरक हुन्छ । यसमा त विश्वको समयलाई नै ध्यान दिनुपर्छ । 

समयको फरक भएरै होला । अमेरिका र नेपालमा मात्रै पनि १२, १३ घण्टाको फरक छ । अमेरिकाका राज्यपिच्छे फरक छ । जति हामी पूर्वतिर गयौँ, त्यति घण्टा फरक हुन्छ । यसमा त विश्वको समयलाई नै ध्यान दिनुपर्छ । 

दसैँमा केहीले सेतो टीका र जमरा पनि लगाउने गरेको पाइन्छ । खास गरी सेतो, रातो टीका र जमराको महत्त्व के हो ? 
दसैँलाई नेपालीहरूको सबैभन्दा व्यापक पर्व भएको हुनाले यसलाई विभिन्न तरिकाले मनाइन्छ । पूर्वतिर राई, लिम्बुहरूले सेतो टीका जमरा लगाएको पाइन्छ । त्यसको अर्थ भनेको रातो टीकामा अलिकति नकारात्मक संकेत छ । त्यसले कसैको काटमारको भावना देखाउने भएका हुनाले रातोभन्दा सेतो नै लगाउने भनेर लगाउने गरेको पाइन्छ । टीका पनि निधारमा लगाउने भन्दा पनि निधारभर लगाउने चलन छ । 

अर्कोतिर रातो टीकालाई शुभ, विरताको संकेत मानिन्छ । त्यसैगरी जमराको कुरामा पनि शास्त्रमा के भनेको छ भने ‘अन्न नै ब्रह्म हो’ । त्यसैले अन्न मध्येको पनि सबैभन्दा प्रमुख जौ हो, हरेक पूजामा प्रयोग गरिन्छ । यति धेरै महत्त्व दिएको हुनाले जौको प्रसाद ग्रहण गर्ने गरिन्छ । नौ दिनसम्म छोपेर जौ उमारिन्छ ।  त्यसलाई प्रसादको रूपमा ग्रहण गरिन्छ । यो प्राचीन र पवित्र अन्न मध्ये एउटा हो । धेरै स्थानमा जौ सँगै अरू अन्न पनि राख्ने गरिन्छ । 

दसैँमा बलि दिने चलन पनि छ, यो शास्त्रमा नै लेखिएको छ कि चली आएको चलन मात्र हो ?
बलि भन्ने शब्दको मात्र प्रयोग गर्‍यौ भने त्यहाँ पशु आउदैँन् । बलि भनेको उपहार हो । भगवानलाई उपहार दिने कुरा हो । बलि भनेको बलिदान हो । शास्त्रको कुरा गर्दा कुन कुनलाई भन्ने अनगिन्ती कुराहरू छन् । त्यसमा सात्त्विक विचार राख्नेहरूले त्यो शास्त्रहरूबाट राम्रो कुराहरूको संग्रह गरेर पशु बलि भनेको राम्रो होइन भन्ने अर्थ निकालिएको पाइन्छ । किनभने कसैलाई मार्नु धर्म हुदैँन्, यो धर्म हो भने पाप के हो त ? 

समाजमा यस्ता मानिस पनि हुन्छन् जसको सोच खाऊँ, पिउ मोज गरौँ भन्ने हुन्छ । त्यस्तो मानिसको लागि पूजाका क्रममा पशु बलिका कुराहरू पनि आएका छन् । तर हामी २१ औँ शताब्दीमा छौ, यहाँसम्म आइपुग्दा देवी देउताको नाममा काटमार गर्नुलाई त्यति उपयुक्त मानिदैँन् । काटमार राम्रो होइन रहेछ भनेर धेरैले छाडेको पनि छन् । वास्तवमा भगवानको बहानामा मान्छेले आफैले खानलाई गरेको एउटा तरिका मात्र हो । 

यस्तो काम धर्म विरोधी हो भनेर मानिसहरूले भनिरहेका हुन्छन्, तर आफैँले विरोधी काम पनि गरिरहेका छन् नि ।
यस्तो तरिका दुई चरित्रको भयो, कुनै पनि हालतमा राम्रो भएन ।  जसले खादैँन्, उसले दिनु हुदैँन् । म माछा मासु खादिन् र म काटमारको पक्षमा पनि छैन । म जस्तै धेरै मानिस छन् । अब एकथरी मान्छेहरू भने दुई चरित्र भएका हुन्छन् । म बलि दिन्न तर खान चाहिँ खान्छु भन्ने खालका छन्, यो गर्नु हुदैँन् । 

जे काम गर्दा आफ्नो आत्माले शान्ति पाउदैँन्, त्यस्तो काम अरूलाई गर्नपर्छ भनेर भन्नु भएन नि । आफू खाने अनि गर्न चाही हुदैँन् भन्नु पनि राम्रो भएन । यसले गर्दा सबैभन्दा ठुलो कुरा आफूले आफैलाई सोध्ने हो । यदि मेरो सन्तानलाई कसैले लगेर खान्छ भने म के भन्थे होला ? त्यसैगरी अर्काको छोराछोरी हामीले खाइ रहेका छौँ, यो ठिक हो कि होइन भनेर आफैलाई सोध्ने हो ।  शास्त्रले पनि यसलाई बढाउने होइन, घटाउनेतिर लाग्नुपर्छ भनेर भनेको छ । अर्कालाई मार्नु, काट्नु, खानु कुनै पनि हालतमा राम्रो काम होइन । 

तपाईँले बलि दिनु हुदैँन् भनेर लामो समयदेखि अभियान पनि चलाउनु भएको छ, केही हदसम्म कम भएको जस्तो लाग्छ ? 
केही मात्र होइन, धेरै नै कम भएको छ । पहिला पहिला यो  अभियान सुरु हुनुभन्दा अगाडि अष्टमी, नवमीमा काठमाडौंका सडकमा निस्कन सकिँदैनथ्यो । गाउँघरमा पनि त्यस्तै हुन्थ्यो । अब सडकमा त्यो अवस्था छैन । नरिवल चढाउन थालेका छन् । भद्रकालीको मन्दिरदेखि लिएर गुह्येश्वरी, दक्षिणकालीसम्म हेर्दा कुनै बेला नरिवल भनेको के हो भन्ने चलन थियो । तर अहिले सबैतिर नरिवल चढाउने चलन आयो । 

पूर्ण रूपमा निर्मूल पार्नको लागि कसरी सकिएला ?
पूर्ण रूपमा निर्मूल पार्न एउटा चाहिँ सरकारी पक्षबाट पनि लाग्नुपर्‍यो । राज्य संयन्त्रले नेपालमा नेपालीहरूको लागि गर्नुपर्ने धेरै काम छ । सुशासनका लागि, सुख दिनको लागि र समुन्नति लागि कामहरू गर्नुपर्नेछ । तर दसैँको बेला राज्यको संयन्त्र खाद्य संस्थानमा कताबाट भेडा र च्याङ्ग्रा ल्याउने भन्ने सोचमै व्यस्त हुन्छ । त्यसैले पहिले त राज्यले पनि प्रोत्साहन गर्नुपर्‍यो । र जनताहरूले पनि त्यही अनुसारको विचार वा धारणा बनाउँदै जान्छन । राज्यले कसैले मासुको दोकान खोल्छु भन्यो भने पाँच लाख रुपैयाँ सजिलै पाउँछ । अर्कोले फलफूल वा तरकारीको पसल राख्छु भन्यो भने त्यति कमाउन गाह्रो पर्छ । त्यसैले पनि यहाँ त राज्यले नै प्रोत्साहन गरिरहेको छ । किन दिएको होला थाहा छैन ।

देशमा जति पनि महामारीहरू छन् ती सबै माछा मासुकै कारणले भइरहेको छ । संसारमा अहिले जति पनि रोगहरूको कारण छन् सबै माछा मासुकै कारण वा खानपिनका कारणले भइरहेको । यो सबैलाई थाहा छ । तर राज्यले नै प्रोत्साहन गरिरहेको देखिन्छ । यो कुनै पनि हालतमा उपयुक्त होइन । राज्यले सिंहदरबारभित्र काटमार गर्न भएन, राष्ट्रपति, प्रधानमन्त्रीको भवनभित्र काटमार गर्न भएन । कुनै पनि सरकारी काममा माछा मासुको भोजभतेर नगर्नुहोला भन्न चाहन्छु । यस्तो गरियो भने शान्ति आउँदैन । शान्तिको कुरा गर्दै माछा मासु र जाँडरक्सी सेवन गर्दा शान्ति आउँदैन । त्यसैले यसलाई ख्याल राख्नुपर्छ । 

बौद्ध धर्मावलम्वीहरु पनि दसैँ मनाउँछन् । उहाँहरूले मनाउने दसैँ के फरक हुन्छ ?
उहाँहरूको पनि दुई वटा चरित्र हुन्छ । बुद्धले परम्परादेखि चलिआएको धर्म, संस्कृतिमा बलिप्रधान देखेर नै ठिक भएन भनेर लाग्नुभयो । उहाँहरूको पञ्चशील सिद्धान्त छ । एक नम्बरमा हिंसा गर्नुहुन्न भन्नुभएको छ । हिंसा गर्नुहुन्न भनेर उहाँले त्यस्तो राम्रो उपदेश दिनुभयो तर उहाँका थोरै मात्र शिष्यहरू अहिंसा गर्ने छन् । हुँदाहुँदै बौद्ध धर्म अहिंसावादी बौद्ध समाज भनेर गठन गरेको देख्छु । आफूले काटमार नगरेपनि बजारबाट ल्याएर खान हुन्छ भन्ने उहाँहरूको धारणा छ । उहाँहरूले नखाइदिने हो भने त्यो पसल नै खुल्दैनथ्यो । तर उहाँहरू भन्नुहुन्छ हामीले काट भनेको होइन राखेको रहेछ, तरकारी खाए जस्तो हो भन्नुहुन्छ । तर गौतम बुद्धले त्यस्तो भन्नुभएको छैन । जसरी सनातन हिन्दु धर्मावलम्वीहरुमा अलमल छ त्यस्तै बौद्ध धर्ममा पनि छ । मात्र जैनहरुमा यस्तो अलमल देखिँदैन । अहिले सनातन हिन्दु धर्मभित्र पनि विभिन्न सम्प्रदायहरू भित्रिएका छन् जसले काटमार भनेको गलत हो पनि भनेका छन् । 

हिन्दुहरू पनि धेरै समुदायले दसैँ मनाउँदैनन् । उदाहरणको लागि ललितपुरको खोकनाबासीले अहिले पनि दसैँ मनाउँदैनन् । यसको कारण के होला ?

कतिले फाप्दैन भन्ने चलन छ । कुनै दुर्घटना भयो भने हामीलाई फाप्दैन भन्छन् । यसरी व्यक्ति नै पिच्छे फरक धारणा हुनसक्छ । तर समग्र भन्दा खेरी मनुष्य जीवनमा मेरो लागि मात्र हो कि राष्ट्रको लागि गर्ने भन्ने सोच्ने हो भने सामान्य काटमारलाई छाड्न सकिन्छ । यसमा युद्धको कुरा जोडिएको र विजया दशमीको चलन पनि पहिलेको जस्तो छैन । समयअनुसार परिवर्तन हुँदै गइरहेको छ, जानु पनि पर्छ । त्यसैले चाडपर्वहरूलाई समयअनुसार मिलाएर लानुपर्छ अनि समाज, राष्ट्र र विश्वमा त्यसका राम्रा पक्षलाई लिएर गयो भने धर्म संस्कृति जीवन्त रहन्छ । 

कतिले फाप्दैन भन्ने चलन छ । कुनै दुर्घटना भयो भने हामीलाई फाप्दैन भन्छन् । यसरी व्यक्ति नै पिच्छे फरक धारणा हुनसक्छ । तर समग्र भन्दा खेरी मनुष्य जीवनमा मेरो लागि मात्र हो कि राष्ट्रको लागि गर्ने भन्ने सोच्ने हो भने सामान्य काटमारलाई छाड्न सकिन्छ । यसमा युद्धको कुरा जोडिएको र विजया दशमीको चलन पनि पहिलेको जस्तो छैन । समयअनुसार परिवर्तन हुँदै गइरहेको छ, जानु पनि पर्छ । त्यसैले चाडपर्वहरूलाई समयअनुसार मिलाएर लानुपर्छ अनि समाज, राष्ट्र र विश्वमा त्यसका राम्रा पक्षलाई लिएर गयो भने धर्म संस्कृति जीवन्त रहन्छ । 

नेपालका चाडपर्वमा पछिल्लो समय पश्चिमा संस्कृति भित्रिँदै गयो भन्ने चिन्ता छ । दसैँलगायतका चाडपर्वहरूको पौराणिक सांस्कृतिक महत्वको पुस्तान्तरण हुन नसकेको हो कि ?
यसका लागि प्रयत्न पनि गरेनौँ, राज्यले पनि प्रयत्न गरेन । यस्तो कुरा सिक्ने भनेकै आफ्नो घरबाट हो । तर उनीहरूलाई नै त्यसबारे थाहा छैन भने सिक्ने कुरा भएन । त्यसको लागि पाठ्यपुस्तकहरूमा नै संस्कृतिको बारेमा राख्ने गर्नुपर्छ । जीवनसँग जोडिएका संस्कृतिका विषयहरू पढ्न पाउने तालिम केन्द्रहरू हुनुपर्छ । जमरा कसरी उमारिन्छ भन्ने तालिम होस । तर अहिलेको बच्चाहरूलाई जमरा कसरी उमारिन्छ भन्ने थाहा छैन । अहिले मानिसहरूमा अलमल पनि छ, जति बुझ्नुपर्ने नबुझेको अवस्था छ । देशको लागि राम्रो होइन । कुनै देशको धर्म, संस्कृति, इतिहास भूगोल मासिँदै गयो भने देशको अस्तित्व जोगाउन समस्या पर्छ । यी कुरालाई राज्यले देशको लागि नेतृत्व गर्छु भनेर हिड्नेहरुले बुझ्दिनुपर्छ । विकृतिको सुधार गर्न भन्दा पनि आलोचना मात्र गरेर बस्ने काम राज्यको तर्फबाट भएको छ । संस्कृतविद्  डा. गोविन्द टन्डनसँग गरिएको कुराकानीमा आधारित/लोकपथ

प्रतिकृया दिनुहोस