सोर्ह श्राद्धको दोस्रो दिन
यस वर्षको सोर्ह श्राद्ध भदौ २८ गते शनिवारसोह्र भएको छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलमा श्राद्धकर्म गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । प्रतिपदा तिथी देखि दशैं शुरु हुने जमरे औंसीसम्मको १५ दिन पितृहरुलाई सम्झने गरिन्छ । यस १५ दिनभित्र आफ्ना दिवंगत आफन्तको पुण्यतिथीमा चोखोनितो गरी महालय श्राद्ध गरि तर्पण र पिण्ड दान दिईन्छ । यसरी तर्पण दिनाले पितृले आफ्ना सन्ततिहरुलाई ऋणमुक्त गरिदिने, पितृहरुप्रतिको दायित्वबोध गराउने र चित्त शुद्ध गराउने धार्मिक मान्यता रहँदै आएको छ । दशैं र तिहार जस्ता ठुलाचाडपर्वमा अन्य देवतालाई सम्झनुअघि पितृहरुलाई खुशी पार्नु पर्ने परम्परा अनुसार सनातन हिन्दु धर्मावलम्बीबीच सोह्र श्राद्धको महत्व रहेको हो । यो वर्षको सोह्रश्राद्ध आश्विन ११ गते प्रारम्भ भई आश्विन २५ गते समाप्त हुन्छ ।
देखिएको वा नदेखिएको कुनैपनि आदर्श गुण, विशिष्ट कुराहरुको महत्व र शक्ति आदिबाट मनलाई प्रभावित गरी त्यसप्रति उत्पन्न हुने आदर्शपूर्ण भावना, इश्वर र धर्म आदि आफ्ना पूज्य तथा मान्यताप्रतिको सद्भाव, आस्था, निष्ठा, विशवास, भक्तिभावलाई नै श्रद्धा भनिन्छ । त्यहि मान्यता अनुसार शास्त्र तथा कुलहरुको बिधी आचरण अनुसार पितृहरुले प्राप्त गर्नेगरि श्रद्धापूर्वक गरिने कर्मलाई नै श्राद्ध भनिन्छ । हिन्दु धर्मशास्त्रमा जिवात्माहरुको ८४ लाख जुनी हुने दाबी गरिएको छ । ति जुनिहरु मध्ये सवोर्त्कृष्ट नै मानव जीवन हो । मानव जीवन उन्नत भएकै कारण मृत्यू भईसकेका जन्मदिने आमाबाबु तथा तिनपुस्ते दाजुभाईर मावली सहित समस्त पितृहरुलाई सम्झिएर तर्पण दिएर पितृ कर्तव्य पुरा गरिन्छ ।
जोतिषशास्त्रमा प्रत्येक वर्ष आश्विन कृष्णपक्षलाई पितृ पक्ष मानिएको छ । पितृहरुका लागि वर्षको दुई पटक श्राद्ध (पिण्डदान) गरिन्छ । जस अनुसार आश्विन कृष्णपक्ष पितृपक्षमा पर्ने तिथिका दिनमा तीन पुस्तासम्मका पितृ, मावलीतर्फ र फूपुहरुलाई समेत गरिने श्राद्धलाई महालय भनिन्छ भने एउटामात्र पितृकालागि गरिने श्राद्धलाई एकोतिष्ट श्राद्ध भनिन्छ । पिण्ड भनेको श्राद्धमा पितृकानाममा चढाइने भात, जौ तथा गाईको दूधबाट तयार गरिएको खिरको डल्लो हो । गाईको दूध, मह, घिउ र खुदो राखेर पिण्ड पकाइन्छ र पिण्डबटार्ने बेलामा जौ र तील पनि राखिन्छ । आश्व्विन कृष्णपक्ष प्रतिपदादेखि आश्विनशुक्ल प्रतिपदा मातामह श्राद्धसम्म सोह्र दिन हुने भएकोले पनि सोह्रश्राद्ध भनिएकोहो । पर्व अर्थात औंसीमा गरिने श्राद्ध भएकाले यसलाई पार्वण श्राद्ध पनि भनिन्छ । पितृपक्षमा श्राद्ध गर्ने व्यक्तिले कपाल, नङ आदि काटेर सफा शुद्ध भई नित्य स्नान गरी सात्विक भोजन गर्दछन् । यस्तो समयमा देवकार्य र देवस्थलमा दर्शन गर्न नहुने परम्परा रहेको छ । पार्वण श्राद्ध अपरान्हमा गर्नु भनि शास्त्रहरुले निर्देश गरेको पाइन्छ ।
मृत्यू भएपछि प्रेतको अवस्थामा पुगिने र त्यहाँबाट मुक्त भएपछि पितृहरुपितृलोकमा निवास हुन्छन् । पितृहरुका राजा यमराज हुन् । पुराणमा उल्लेख भए अनुसार मानिसदेवऋण, ऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । तर भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रैपितृ ऋणबाट मुक्ति पाइने विश्वास छ । पितृ रिसाएका खण्डमा देवकर्मबाट प्राप्त फलसमेत हरण हुन्छ । भारतका चारधाम लगायत नेपालमा वराहक्षेत्र, जनकपुरधाम, मुक्तिनाथ र दामोदर कुण्ड आदिमा तीर्थ गरेपछि सकुन्जेल सम्म श्राद्धकर्म समेतगर्नु पर्दछ । सोह्र श्राद्धको अन्तिम दिनलाई पितृविसर्जन गर्ने दिन भनिन्छ । सोह्रश्राद्ध सकिए लगत्तै नेपालीहरुको महान चाड बडादसैं सुरु हुन्छ ।साभार ः हाम्रो पात्रो
प्रतिकृया दिनुहोस